तनहुँको घिरिङ गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन होजियारी स्विटर सिलाई बुनाई र अचार बनाउने तालिम दिएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं २ का महिलाहरूलाई विभिन्न तालिम दिएको हो। वैशाख ११ देखि जेठ १० गते सम्म होजियारी एवं स्वीटर सिलाई बुनाई सम्बन्धी तालिम सञ्चालन गरेको थियो। सो तालीममा १६ जना महिलाहरू सहभागी रहेका थिए।
यस्तै वैशाख ११ देखि १३ गते सम्म सोही वडाका १४ जना महिलाहरूलाई अचार बनाउने तालिम दिएको थियो। वडा नं २ को कार्यालय सभाहलमा सञ्चालन भएको उक्त तालिम ग्रामीण उद्यमशीलता विकास केन्द्रले समन्वय तथा सहजीकरण गरी दक्ष प्रशिक्षकहरू द्वारा प्रशिक्षण दिएको थियो।
महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित सञ्चालन गरिएको उक्त तालिमको वडा नं २ का अध्यक्ष नर बहादुर थापाको अध्यक्षतामा आइतबार समापन कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाको हात बाट तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। अध्यक्ष थापाले सो कार्यक्रमको अवसरमा महिलाहरुलाई सीप सिकाएर जीविकोपार्जनमा जोड दिएको बताए। साथै सीप सिकेर के गर्छन् भन्नेहरुको अगाडी सिकेको सिपको इमान्दारीपूर्वक कार्यान्वयन गरी उद्यमी बन्नु पर्ने बताए। आगामी दिनमा महिलाहरूलाई पालिकाले प्रोत्साहन हुने खालको अन्य कार्यक्रम ल्याउने प्रतिबद्धता गरे।
सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नं ३ का अध्यक्ष तहल सिंह थापा लगायतले सीप सिकेका महिलाहरू लाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै सिलाई मेसिन, इन्टरलक मेसिन र होजियारी बुन्ने मेसिन हस्तान्तरण गरेका हुन्। सो कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकारी तथा कार्यक्रमका संयोजक ध्रुब लामिछानेले गरेका थिए।
तालिमकाका प्रशिक्षार्थीहरूले महत्वपूर्ण सिप सिक्न पाएकोमा गाउँपालिका साथमा रहेको अनुभुति गरे। आफूहरूलाई तालिमले आत्मनिर्भर बन्न सहयोग पुर्याए संगै सामूहिक रूपमा व्यावसाय सञ्चालन गर्ने सोच बनाएको बताएका थिए।
