भ्रष्टाचार विरुद्ध एकीकृत नागरिक अभियान व्यास नगरपालिका तनहुँका संयोजक मित्र दुराले पछिल्लो समय देशमा भएका भ्रष्टाचार विरूद्ध आम नगारिक सचेत हुनुपर्ने बताएका छन् । भ्रष्टाचार विरुद्ध एकीकृत नागरिक अभियान व्यास न पा तनहुँद्धारा सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । आम नागरिकले भोग्नुपरेको भ्रष्टाचार, ढिलासुस्ती, कुशासन, विकृति र विसङ्गतिहरूले युवाहरु देश छोड्न बाध्य भएको उनले बताए । उनले ६६ जिल्लाको भ्रमण गर्दा आम नगारिकले दुःख मात्र पाएको र भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको बताए ।
दुराका अनुसार “यस अभियान अन्तर्गत सुरूको चरणमा व्यास नगरपालिकाका १४ वटै वडाहरूमा पुगी अभियन्ताहरू मार्फत जनचेतनामूलक कार्यक्रमहरू, नागरिकहरूको ऐक्यबद्धता दर्शाउन भ्रष्टाचारीको कात्रोमा सर्वसाधारणको हस्ताक्षर सङ्कलन र प्रदर्शन अभियान र भ्रष्टाचारीहरूको सम्मानका लागि घरघरबाट थोत्रा जुत्ता चप्पल सङ्कलन गर्ने सांकेतिक अभियान सञ्चालन गरिनेछ” ।
त्यस्तै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारीले भ्रष्टाचार विरूद्ध लड्न पत्रकारहरु सधै साथमा रहेको बताए ।
सामाजिक अभियान्ता महमद् गफ्फारले सरकारी कार्यलय देखि वडा सम्म हुने भ्रष्टाचारलाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताए ।

उक्त पत्रकार सम्मेलनमा र्यापिड एक्सन फायरका संयोजक विष्णबहादर थापा,राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका अध्यक्ष विनोद धर्ती , व्यास नगरपालिका वडा नं १३ का अध्यक्ष वसन्त आले लगाएतले राज्यका विभिन्न निकायमा हुने भ्रष्टाचारमा सबै मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।