व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रम क्याम्पस प्रमुख महाप्रसाद हडखलेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमा किङ्स कलेज काठमाडौँका प्रमुख नरोत्तम अर्यालले विद्यार्थीहरूलाई उद्यमशील बनाउनका लागि उनीहरुलाई क्याम्पसले निरन्तर अभिमुखीकरण गर्नका लागि सबै विषयका प्राध्यापक र विद्यार्थीहरूको बीच सहकार्यको वातावरण बनाउन अति जरुरी रहेको बताउनुभएको थियो ।

अर्यालले भन्नुभयो “ परम्परागत शिक्षण विधि र सामग्रीका सट्टामा विद्यार्थीहरूलाई समुदायका समस्याहरू टिप्न लगाई ती समस्याहरूको समाधान भित्र अवसर पत्ता लगाई उद्यमशील बन्न प्रेरणा जगाउन क्याम्पसले व्यवस्थित तरिकाले कार्यक्रमहरू अगाडि ल्याउन पर्छ ।”कार्यक्रमा क्याम्पस सञ्चालक समितिका सदस्य एवं राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार समितिका संयोजक अपार पौडेलले समय अनुसार बदलिँदै जानका लागि शिक्षकले आफूलाई सिप दक्षता र योग्यताको कसीमा राखेर हेर्नुपर्ने बताउनुभएको थियो। सो अवसरमा किङ्स कलेजमा भएका उद्यमशीलताका अभ्यासहरूका बारेमा श्रव्य दृश्य सामग्री प्रस्तुत समेत गरिएको थियो।उक्त अन्तरक्रिया कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस, मध्यबिन्दु बहुमुखी क्याम्पस, र सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापकहरूको उपस्थिति रहेको थियो। क्याम्पस परिसरमा स्रोत व्यक्ति अर्यालले ओखरको बिरुवा रोप्नुभएको थियो।