गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र नामसारीसम्बन्धी अनलाईन सेवा विस्तार गरेको छ । यसअघि कास्कीस्थित यातायात व्यवस्था कार्यालय सवारीमा सुरु भएको सवारी साधनको दर्ता र नवीकरण गर्न प्रयोग गरिने अनलाईन (ईभिआरएस) सेवा पछिल्लो पटक बागलुङ, नवलपुर र डुम्रेमा रहेको कार्यालयमा पनि विस्तार गरिएको छ ।मन्त्रालयको यातायात शाखा प्रमुख अनिल सुवेदीले गण्डकी प्रदेशमा रहेका सबै यातायात कार्यालयबाट सेवाग्राहीले अनलाईनमार्फत नयाँ सवारीसाधन दर्ता र नवीकरणको आवेदन दिन पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “कार्यालयमा सेवाग्राहीको भीड घटाउने र तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने बाध्यता हटाउन इभिआरएस प्रणाली विस्तार गरेका हौँ,” सुवेदीले भन्नुभयो “सवारीसाधन दर्ता प्रमाणपत्र, (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाइन बस्नुपर्दा हुने झन्झट हटाउने र भीड घटाउन यो सेवा प्रभावकारी देखिएको छ ।”

अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सवारीसाधन नामसरी र नवीकरणको काममा सहज भएको छ । सवारी जाँचपाँस र रुट इजाजतबाहेकका सेवा अनलाइनमार्फत दिन थालिएको हो । सबै कागजात अनलाईनबाट प्रविष्ट गराएर कार्यालयमा जाँने वित्तिकै काम सकेर फर्किएको बेनी नगरपालिका–२ का भीमबहादुर रिजालले बताउनुभयो ।यसैगरी बागलुङ, नवलपुर र डुम्रेको यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेख र सबै कागजातसहितको विवरण स्क्यान गरेर सफ्टवेयरमा प्रविष्ट गराउन थालिएको छ । बागलुङ र नवलपुरमा थप जनशक्तिमार्फत डिजिटलाईजेशनको काम भइरहेको छ ।डुम्रेमा दर्ता भएका सवारीसाधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत काम भइरहेको मन्त्रालयले जनाएको छ । कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउँदा सवारीसाधन दर्ता र नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन सकिने यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले बताउनुभयो ।बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार बढी सवारीसाधन दर्ता भएका छन् । यसअघि यातायात व्यवस्था कार्यालय कास्की (सवारी) मा दर्ता भएका तीस लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखिसकिएको छ ।

सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुपर्ने समस्या हटेको, फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजालले बताउनुभयो ।सबै फाइलहरू विद्युतीय अभिलेखीकरण भएपछि फाइल, ढड्डा हराउने, सेवाग्राहीलाई असहजता हुने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । फाइलहरूलाई विद्युतीय अभिलेखीकरण गरेपछि दराजमा राखिएको फाइल खोजी रहनुपर्ने समस्या पनि अन्त्य हुने छ ।कार्यालयमा भीड घटाउन बिहान ८ बजेदेखि नै सेवा सञ्चालन गरेको यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) कास्कीका नायब सुब्बा नवीन क्षेत्रीले लाइसेन्सको लाइसेन्स नवीकरणको राजस्व पनि अनलाईनमै तिर्न सकिने बताउनुभयो ।बिहानी सत्रमा नयाँ सवारी चालक अनुमति पत्रको आवेदन पेस गर्ने, लाइसेन्स वितरण, वर्ग थप गर्ने, वायोमेट्रिक गर्ने, राजस्व तिर्ने, मेडिकलसम्बन्धी सेवा दिने गरिएको उहाँले बताउनुभयो ।