खानेपानीमन्त्री राजेन्द्रकुमार राईले स्वच्छ खानेपानी सबै नागरिकको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।गणतन्त्रयताका पूर्वाधार विकाससम्बन्धी राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘रासस तस्बिर प्रदर्शनी’ आज यहाँ अवलोकनका क्रममा मन्त्री राईले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारले देशभर खोनपानीको समस्या हल गर्न संयुक्त रूपमा छलफल तथा निष्कर्ष निकाल्न लागिपरेको जानकारी दिनुभयो ।

“जलवायु परिवर्तनको असरले भूमिगत पानीको स्रोतहरू सुक्दै गएका छन् । अन्य ठाउँहरूमा पनि मुहानहरू सुक्दैछन्, यो हाम्रा लागि चुनौती हो”, उहाँले भन्नुभयो, “देशभर झण्डै २७ प्रतिशत जनताले स्वच्छ खानेपानी पाएका छन् भने ७६ प्रतिशतले सामान्य खानेपानी पाएका छन् । अहिले बाँकी रहेकालाई खानेपानीको पहुँचमा पुर्याउन प्रयासरत छौँ ।”

गणतन्त्रात्मक व्यवस्थाले राजनीतिक व्यवस्था परिर्वतनसँगै भौतिक पूर्वाधार विकास, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव भएको मन्त्री राईको भनाइ थियो । “मुलुकमा गणतन्त्र आइसकेपछि भौतिक पूर्वाधार निर्माण र विकासमात्र होइन, जनताको जीवनस्तर उकास्न आर्थिक समृद्धि एवं राष्ट्रियताको सुरक्षा हुन्छ भन्ने यी तस्बिरहरूले झझल्को देखाएका छन्”, तस्बिरको अवलोकनका क्रममा मन्त्री राईले भन्नुभयो ।