फेसबुक ह्याक गरी अनलाइन मार्फत ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती नगरपालिका–१ निवासी २६ बर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । तनहुँको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दिपककुमार श्रेष्ठको फेसबुक ह्याक गरी लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका–३ सुर्यपाल बस्ने आकाश गुरुङलाई इसेवा मार्फत एक लाख रुपैयाँ ठगि गरेका हुन् ।गुरुङलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भनी मिति २०८१ बैशाख १९ गतेदेखि पटक पटक म्यासेज गरी बिश्वास दिलाई इसेवा आईडीमार्फत रकम पठाउन लगाई ठगि गरेको रायले बताए । गुरुङले आफु अनलाइनबाट ठगिएको भनि दिएको निबेदनका आधारमा रकम ठगी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा सुमन पक्राउ गरेको हो । सुमनलाई ठगी सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।