संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको आयोजनामा जेठ २१ गते दमौलीमा छुवाछुत उन्मुलन दिवस मनाइने भएको छ । नेपाल सरकारले विसं २०६३ साल जेठ २१ गते नेपालका सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेपनि तनहुँमा पहिलो पटक यस दिवस मनाउन लागिएको हो । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न जिल्लाव्यापी प्रचारप्रसार र भेटघाट कार्यलाई तीब्रता दिइएको सो समितिले जनाएको छ । २०६८ को छुवाछुत कसुर ऐन र २०७२ सालको संविधानले सबै वर्ग र समुदायको हकअधिकार सुनिश्चित गरेपनि कार्यन्वयन पक्ष फितलो र अन्त्य हुन नसकेकाले दबाब स्वरुप कार्यक्रमको आयोजना गरिएको समितिका संयोजक डोवाटे बिकले जानकारी दिए । सबै वर्ग,समुदाय र सबै नेपालीले छुवाछुत अन्त्यको लागि ऐक्यबद्धता जनाएर सहयोग गरिदिन समेत संयोजक बिकले आग्रह गरेका छन् । त्यसैगरी कार्यक्रमको बारेमा जानकारी दिन जेठ १९ गते दिउँसो २ बजे दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको समितिले जनाएको छ ।