तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणले ऐतिहासिक तनहुँसुर दरबार परिसर सरसफाइ गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर गणले आज व्यास –११ स्थित तनहुँसुर दरबार परिसरमा सरसफाइ गरेको हो । सेनाको टोलीले दरबार, खड्गकाली मन्दिर आसपास सरसफाइ गरेको गणका सेनानी कुसुम पहारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तनहुँसुर ऐतिहासिक तथा पर्यटकीयस्थल हो । यसको सुन्दरतालाई कायम राख्नका लागि सेनाको टोलीले सरसफाइ गरेको हो ।”तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने किम्बदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।