नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा  तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँको सदरमुकाम दमौलीको मेनचोक, फलफूल लाइनमा आईतबार राती भएको आगलागीले क्षतिको  स्थलगत निरीक्षण गर्नु भएको छ । बिहीबार निरीक्षणको क्रममा सांसद भण्डारीले क्षति तथा विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिनु भएको छ । आगलागी पीडितलाई सांसद भण्डारीले आफू पीडितको साथ रहेको र आगोले पसल जलेपनि मन नजलाउन आग्रह गर्नुभयो । भण्डारीले भन्नुभयो, तपाईहरुलाई परेको पिरमकालाई समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता गर्दछु ।’ तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न सांसद भण्डारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र व्यास नगरपालिका लगायत जिल्ला स्थित सरोकारवाला निकायलाई निर्देशन दिएको छ । नयाँ सटरहरु निर्माण गरेर सबै व्यवसायीलाई सोही स्थानमा स्थापित गराउनु पर्ने भण्डारीले बताउनुभयो । व्यवसायिलाई पेशाबाट विस्थापित हुन नदिन, सङ्घ सरकार समक्ष राहतको लागि कदम अगाडी बढाउने प्रतिबद्धता भण्डारीले गर्नु भएको थियो । साथै भण्डारीले आगामी दिनमा यस्ता आगलागी हुन नदिने, लागेमा छिटो निभाउन सक्ने उपकरण तथा जनशक्तिको व्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले गण्डकी प्रदेश सरकारको तर्फबाट दिने राहतको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला विपद् व्यवस्थापन समितिले सङ्घ तथा प्रदेश सरकारलाई राहत रकम उपलब्ध गराउन सिफारिस गर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपीलराज बोहोराले क्षतिको विवरण सङ्कलन गर्ने काम पुरा भएको जानकारी दिँदै पुर्नमूल्याङ्कनको काम भईरहेकोले जति क्षति भएको छ त्यति मात्रै विवरण दिन आग्रह गर्नुभयो । नोक्सान भएको भन्दा बढी विवरण दिँदा राहतको काम प्रभावित हुने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा।डा।कृष्णप्रसाद गौतमले आगलागीबाट विस्थापित भएका व्यवसायीलाई परिवार पाल्न, बैंकको किस्ता तिर्न समस्या भएकोले सोही ठाउँमा व्यापार गर्न पाउनु पर्ने माग भएकोले सो पुरा गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले सांसद भण्डारीकै पहलमा दुई वर्ष अघि आगो निभाउन हेलिकप्टर आएको स्मरण गर्दै जनताको पीडा बुझ्ने नेता भएको बताउनुभयो । आगलागी पीडितलाई सांसद भण्डारीले न्याय दिने श्रेष्ठको भनाई थियो । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सभापति शुकनारायण मल्ल, पीडित डा। विद्युतकेशरी न्यौपाने लगायतले व्यवसायीले व्यवसायबाट विस्थापित भए भने पीडामाथि थप पीडा हुने भएकोले त्यसमा सबै गंभिर हुनु पर्ने बताउनुभयो । आगलागी पीडित सङ्घष समितिका संयोजक केहरसिंह आले बादलले आगलागी भएको स्थलको तत्काल सरसफाई गरि पुर्ननिर्माणका साथै पसल सूचारु गर्न माग राख्नु भएको थियो । पीडित प्रतापसिंह अधिकारीले सांसदहरु चासो राखेर पीडा बुझ्नको लागि आउनु भएकोले पीडितको माग पुरा हुने विश्वास लागेको बताउनु भएको थियो । जिल्ला समन्वय समितिका सदस्य डोलराज सुनारले समन्वयले व्यवसायीको समस्या समाधान गर्न पहल थालिसकेको बताउनुभयो । सो अवसरमा व्यास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा क्षति मूल्याङ्कन समितिका संयोजक अनुप रानाले २४ वटा सटरहरु जलेर ध्वस्त हुँदा छ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपियाँ क्षति भएको विवरण सङ्कलन भएको जानकारी दिनुभयो ।