विगत केही वर्ष पहिला तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दीखोला कञ्चन थियो । यहाँका मानिसले बुल्दीखोलाको पानी प्रयोग गर्दथे । अहिले अवस्था बदलिएको छ । प्रदूषणका कारण बुल्दीखोलाको पानी प्रयोग गर्न सक्ने अवस्था छैन । खोला तथा आसपासमा फालिएका फोहरले खोलाका साथै समग्र वातावरणलाई नै असर पुगेको स्थानीय बताउँछन् । विगतका दिन सम्झिँदै व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले बुल्दीखोला अहिले नुहाउन लायक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई याद छ बुल्दीखोलाको पानी हामीले पनि पिएका हौँ । तर अहिले यति प्रदूषित भयो कि पिउने त कुरै छाडौँ, नुहाउन मिल्ने अवस्थामा पनि छैन ।” स्थानीय तथा खोला भएर यात्रा गर्ने यात्रुको लापरबाहीका कारण पानी दूषित बन्दै गएको भन्दै यसको सरसफाइमा स्वयं व्यक्ति र समाज लाग्नुपर्ने हड्खलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सोझै ढल खोलामा मिसाउने गरिएको छ, यसले झनै समस्या थपेको छ । यहाँको ढल सोझै खोलामा मिसाउनु हुँदैन भनेर युवाले अग्रसरता लिनुपर्छ । जनप्रतिनिधिले पनि नगरपालिकामा खोला संरक्षण र ढल व्यवस्थापनमा दबाब सिर्जना गर्नुपर्छ ।” खोला सफा भए जलचर संरक्षण हुने भएकाले यसतर्फ सबैले पहल गर्नुपर्ने उहाँको भनाइ छ । दिनप्रतिदिन बुल्दीखोला दूषित बन्दै गएकाले यसलाई पुरानै स्वरुपमा फर्काउने प्रयास थालिएको वडाध्यक्ष हड्खलेले बताउनुभयो । दमौलीका युवा अभियन्ता सुदीप गफ्फारको प्रयासमा बुल्दीखोलालाई पुरानै स्वरुपमा फर्काउन बृहत् जनसहभागितामा सरसफाइ गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानमा सबैको सद्भाव र सहयोग हुनु आवश्यक छ ।” नगरपालिकाको मुख्य चुनौती फोहर व्यवस्थापन भएको उल्लेख गर्दै नगरप्रमुख न्यौपानेले भन्नुभयो, “सहरीकरणसँगै फोहरको मात्रा बढ्दै गएको छ । यसको व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ । नागरिकस्तरमा सरसफाइ अभियानका लागि ठूलो समर्थन प्राप्त भएको छ ।” जीवनमा नभई नहुने तत्व पानी भएको बताउँदै उहाँले पानीलाई स्वच्छ बनाउने अभियानमा नगरपािलकाको सदैव सहयोग रहने बताउनुभयो । नगरप्रमुख न्यौपानेले नगरलाई सफा र स्वच्छ बनाउन आगामी जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो चरणमा झोलाबाट यो अभियान सञ्चालन गर्न लागेका छौँ ।” सरसफाइ अभियानको नेतृत्व गर्नुभएका युवा अभियन्ता सुदीपले बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्थालगायत स्थानीयबाट साथ र सहयोग पाएको बताउनुभयो । बुल्दीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सुदीपले भन्नुभयो, “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्थाले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेकाले पनि सबैको सहभागितामा सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।” बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महर्षी वेदव्यासले यहाँ हात धोएका भन्ने धार्मिक महत्व छ । सोही कारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गामा देवताको बास छ । पछिल्लो समय यसको स्वरुप फेरिँदा मन खिन्न हुन्छ ।” बुल्दीखोलाको स्वरुप फर्काउन सरसफाइ अभियान निरन्तर जारी रहने उहाँको भनाइ छ ।