तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ । युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरियो । व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर सङ्कलन गरेको थियो ।

त्यस्तै व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले नौ सय ४० दशमलव सात किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ । प्रथम भएको समूहलाई नगद रु १० हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । मनकामनाका विद्यार्थी समूहले छ सय ४५ दशमलव नौ र कन्काइका विद्यार्थी समूहले पाँच सय १६ दशमलव नौ किलो फोहर सङ्कलन गरेका थिए । उनीहरुलाई क्रमशः रु चार हजार र रु दुई हजार नगद प्रदान गरियो । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।

बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियान्ता गफ्फारले जानकारी दिनुभयो । खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उहाँको भनाइ छ । बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्था लगायतबाट साथ र सहयोग पाएको बताउनुभयो । बुल्दीखोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।” बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ ।

यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।” उहाँकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन हुँदैछ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानमा सबैको सद्भाव र सहयोग हुन राम्रो कुरा हो ।” व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले समाज बदल्न पहिला आफू बदलिन पर्ने बताउँदै त्यसको नेतृत्व एउटा युवाले गरेकामा खुसी व्यक्त गर्नुभयो ।