पोखरा महानगरपालिका–११ मा धु्रवबहादुर थापाले काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गर्नुभएको केही समय मात्रै भयो । विगतमा खाद्यान्न आपूर्तिको काम गर्ने उहाँले व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने कोरोना कहरको समयदेखि सुरु गर्नुभएको हो ।कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको सोचलाई व्यवहारमा नै उतार्नुभएका थापाले २०७४ देखि नै त्यसका लागि अध्ययन एवं अन्य प्रक्रियागत काम सुरु गर्नुभएको थियो । उहाँले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा हाल च्याउखेती गरिरहनुभएको छ । यसका लागि चीनबाट सामान ल्याउनुभएको छ । विसं २०७७ फागुनमा निर्माणका काम सकेपछि च्याउखेती थालिएको र चिस्यानसहितको हाइटेक प्रविधिको टनेल तयार गर्न करिब रु ५० लाख खर्च भएको उहाँको भनाइ छ ।

थापाले उत्पादन राम्रो हुँदाका अवस्थामा दैनिक करिब पाँच सय किलोग्रामसम्म गोब्रे च्याउ टिप्दै आउनुभएको छ । कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउ भने हाइटेक प्रविधि जडित टनेलभित्र नै गर्नुपर्ने उहाँको अनुुभव छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा नै हुने गरेको उहाँले सुनाउनुभयो ।टनेलबाट यस याममा तीन हजार किलोग्राम च्याउ उत्पादन भइसकेको जानकारी दिँदै उहाँले थप एक हजार किलोग्राम उत्पादन हुने अनुमान गरिएको बताउनुुभयो । उहाँले च्याउ रु दुई सय ७० मा बिक्री गर्दै आउनुभएको छ । खुद्रा बजारमा भने रु तीन सयदेखि तीन सय २५ सम्म च्याउ बिक्री भइरहेको उहाँको भनाइ छ ।थापाको च्याउखेती फर्ममा हाल तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने थप पाँच जनाले आवश्यकताअनुसार रोजगारी पाइरहेका छन् । च्याउ टिप्ने बेलाका समयमा भने १२÷१३ जना कर्मचारीलाई प्रतिघण्टाका आधारमा पनि काममा लगाइने उहाँले जानकारी दिनुुभयो ।

महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत च्याउ पकेट कार्यक्रमका लागि गत आर्थिक वर्षमा थापासहित तीन जना च्याउ उत्पादक कृषक रकम उपलब्ध गराइएको थियो । जसमा संरचना निर्माण, मल, बीउलगायतका लागि ५० प्रतिशत अनुदानस्वरुप रु १२ लाख उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमको निरन्तरता दिँदै थापाको काहुँ सिस्नेरी एग्रो फर्मलाई ५० प्रतिशत अनुदानस्वरुप रु छ लाख उपलब्ध गराइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो ।

च्याउका फाइदा ?

बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुन्छ । यसमा एर्गो थियोनिन भन्ने तत्व हुन्छ जसले चाउरीपना हटाउनुुका साथै छालाको सुरक्षा गर्दछ । यसमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ ।रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने निकै कममात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमितरुपमा च्याउ खानाले उच्च रक्तचाप, सुुगरआदिको नियन्त्रण गर्न मद्दत पुुग्दछ भने क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ । 

महानगरको सहयोग

पोखरा महानगरपालिका कृषि महाशाखाले व्यावसायिक कृषिमा क्रियाशील कृषकलाई केही न केहीरुपमा सहयोग गरिरहेको महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । पोखरा पर्यटकीय क्षेत्र भएका कारण यहाँ च्याउको खपत राम्रै हुने उहाँको भनाइ छ । च्याउको माग पनि बढ्दो भएकाले यसको विविधीकरण गर्नुपर्छ भन्ने महानगरको सोच रहेको उहाँले बताउनुुभयो ।उहाँका अनुसार मूल्यका दृष्टिले सीताके च्याउ सबैभन्दा महंगो पर्छ भने गोब्रे र कन्ये च्याउ त्योभन्दा सस्तोमा पाइन्छ । किसानले राम्रो मूल्य पाउनुका साथै उपभोक्ताले फरक स्वाद पाउन सकुन् भन्ने सोचका साथ च्याउको विविधीकरणलाई आफूहरूले जोड दिएको उहाँको भनाइ छ ।सुरुमा कन्ये च्याउको उत्पादन राम्रो भएको बताउँदै उहाँले उक्त च्याउ भने प्लाष्टिकका टनेलमासमेत उत्पादन गर्न सकिने जानकारी दिनुुभयो । महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको च्याउ पकेट कार्यक्रमबाट काहुँ सिस्नेरी एग्रो फर्मलाई सहयोग गरेको उहाँले बताउनुुभयो ।

उहाँका अनुसार महानगरपालिकाले च्याउ उत्पादक कृषकको हितलाई दृष्टिगत गर्दै कन्ये च्याउका लागि रु एक सय ३० र गोब्रे च्याउका लागि दुई सय ६० न्यूनतम समर्थन मूल्य पनि तोकिसकेको छ ।