तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो ।मुहानबाट करिब पाँच सय मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका दुई र ३० हजार लिटर क्षमताका दुई रिर्जभ ट्याङ्की निर्माण गरिनेछन् । इन्जिनियर वीरेन्द्र थापाका अनुसार इन्टेक नजिक एक लाख लिटर, बीचमा तीस÷तीस हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण गरिनेछ । “ट्याङ्की निर्माणपश्चात् सङ्कलित पानी लिफ्टिङमार्फत लगिनेछ”, उहाँले भन्नुभयो, “करिब दुई किलोमिटर दूरीमा जिआई पाइपलाइन विछ्याइनेछ ।”

तीस हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङकी निर्माण सम्पन्न भइसकेको थापाले जानकारी दिनुभयो । एक लाख लिटरको ट्याङकीका लागि बेस निर्माण भइरहेको छ । उहाँका अनुसार हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति पुगेको छ । पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल मानुङकोट आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । पानीको चरम अभाव रहेकामा शुद्ध पानीको पहुँच पुगेपछि यस क्षेत्रको मुहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । निर्माणधीन योजनाको कार्य समयमै सम्पन्न गराउन समयसमयमा अनुगमनलाई तीव्रता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।सङ्घीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो । समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्‍याउन लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार दोस्रो चरणका लागि पुनः सङ्घीय सरकारमा बजेट माग गरी पठाइसकिएको छ ।

पानीको चर्को समस्याका कारण सुविधा खोज्दै बसाइँसराइमा गएका स्थानीयलाई यही फर्काउने योजना नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ । पानीको मूल दर्ता रहे पनि केही स्थानीय व्यक्तिको विवादका कारण निर्माण प्रभावित भएको निर्माण कम्पनीका प्रोपाइटर विज्ञान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार निर्माणस्थलमा दैनिक १२ जना कामदारले काम गरिरहेका छन् ।

मानुङकोटको महत्व

मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको किंवदन्ती रहेको पाइन्छ । महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा थिए । मत्स्यगन्धासँगको प्रेमलीला अरूले नदेखून् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको किंबदन्ती रहेको स्थानीय बताउँछन् । मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ । यसका साथै रमणीय हरियाली वनजङ्गल देखिन्छन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी अन्यत्र गएपछि यो बस्ती रित्तिँदै जान थालेको थियो ।

पानी सहज हुने स्थानतर्फ झरेका स्थानीयहरु पछिल्ला समय पर्यटक आगमन बढ्न थालेपछि पुनः फर्किन थालेका छन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ । यहाँ केही सुविधासम्पन्न होटलहरु बन्ने क्रम बढेको छ । पानीको अभावका कारण बजारबाट किनेर व्यवसाय सञ्चालन गरिरहेको होटल व्यवसायी चुडामणि दाहालले बताउनुभयो । उहाँका अनुसार यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् ।

“हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ”, दाहालले भन्नुभयो । उहाँका अनुसार उक्त स्थानबाट हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्नका लागि पर्यटक लालायित हुने गर्दछन् । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।