बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।काठमाडाैँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो । दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । “घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ”, श्रेष्ठले भन्नुभयो ।