तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट चढ्न सर्वसाधारणको आकर्षण बढेको छ । जिल्लामै पहिलो पटक सञ्चालन भएको मोटरबोटले सर्वसाधारणको ध्यान खिचेको हो । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने सवारीसाधन रोकेरै मोटरबोटमा शयर गरी गन्तव्यतर्फ जाने गरेका छन् । यसका अतिरिक्त आँबुखैरेनी आसपासबाट पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । परिवारसहित मोटरबोट शयर गर्न पुग्नुभएका जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले गर्मी मौसममा निकै आनन्दित महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चालनको छोटो अवधिमै यसले सर्वसाधारणको ध्यान खिचेको छ । पर्यटन प्रवद्र्धनका लागि यो कोसेढुङ्गा सावित त हुने नै छ ।

साथै आँबुखैरेनी गाउँपालिकालाई आम्दानीका हिसाबले टेवा मिल्नेछ ।” तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु निवासी भीमलाल श्रेष्ठले गर्मी मौसममा मोटरबोट शयर गर्दा शीतलताको अनुभव गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कामका सिलसिलामा राजमार्गमा यात्रा गर्दा मोटरबोट शयर गरेर आयाँै, नदीमा मोटरबोट चढेर दौडिँदा आनन्द आयो ।” आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी गाउँपालिकाले उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानको भनाइ छ ।

साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उहाँले बताउनुभयो । जलाशयमा तत्कालका लागि रु एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिनुभयो । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ । कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचना बनाउने योजना बनाएको छ ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिनुभयो । मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा शयर गर्न रु दुई सय ५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्म शयर गर्नका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने जनाएको छ ।