नेपाली कांग्रेसका सांसद पदम परियारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन ठूलो संख्यामा जनप्रतिनिधिहरूले कार्यकाल पूरा हुनुअगावै राजीनामा दिएको विषयप्रति आपत्ति जनाएका छन् ।
३० जनाभन्दा बढी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन् ।
उनले नेपालको संविधानको धारा ८६, १७७ र २१५ अनुसार संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको स्मरण पनि सम्बोधनको क्रममा गरे ।
‘अगामी २१ फागनुको निर्वाचनका लागि ३० जनाभन्दा बढी प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख/उप्रमुखहरूले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै राजीनामा दिएर निर्वाचनमा होमिने निर्णय गर्नुभएको छ । नेपालको संविधानको धारा ८६, १७७ र २१५ ले सांसदहरूको कार्यवअधी पाँच वर्ष तथा स्थानीय तहका प्रतिनिधिको कार्यअवधी समेत पाँच वर्ष तोकेको छ । भगौडा र धोकेबाज प्रेमीजस्तै यीनिहरूले जनतासँग खाएको वाचा र शपथ खाएको संविधान बिर्सिएका छन्,’ उनले भने ।
जनताबाट प्राप्त जनादेश र संविधानप्रति गरिएको शपथ बिर्सेर पद त्याग गर्ने प्रवृत्तिले राज्यलाई अनावश्यक आर्थिक भार थपिएको बताउँदै विद्यमान कानुनमा संशोधन गर्न सरकार र संसदको ध्यानाकर्षण गराए ।
जनताप्रति उत्तरदायी संसदीय राजनीतिक संस्कार स्थापित गर्न कानूनी व्यवस्था थप मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले जनताको जनादेश बिर्सिएर भगौडा र धोकेबाज प्रेमीजस्तै जनप्रतिनिधि भागेको टिप्पणी पनि गर्नुभयो ।
‘फेरी उपनिर्वाचन गराउन बाध्य पारेर राज्यको ढुकुटिमा करोडौँको भार थपेका छन् । तसर्थ सम्माननीय अध्यक्ष महोदय जनतालाई धोका दिने र आफ्नो जिम्मेवारी नसकिँदै भाग्ने भगौडा राजनीतिलाई रोक्न र संसदीय राजनीतिलाई रोक्न विद्यमान कानुनहरूमा संशोधन गर्न जोडदार माग गर्दछु,’ उनले भने ।






