व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको अल्ट्रा म्याराथनमा सम्पन भएको छ। ‘पर्यटन, धार्मिक एवम् ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजित अल्ट्रा म्याराथन शुक्रबार सम्पन भएको हो ।
व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय नेपाली सेनाका धावक भएका छन् । प्रथम बझाङका करन रावल प्रथम भएका छन् । रावलले उक्त दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पार गरेका छन् ।
प्रतियोगिताका रामेछापका तिलक बहादुर सुनुवारले दुई घण्टा ५८ मिनेटमा उक्त दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गरे भने रामेछापकै होमलाल श्रेष्ठले तीन घण्टा चार मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै प्रतियोगितामा काठमाडौका एपिएफका राजन चौधर, श्रीकाश राई, सोलुखुम्बुका मिलन कुलुङ,अर्जुन कुलुङ र रुकुमका दुर्गाराज बुढा सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ८५ हजार ८२, द्वितीय हुनेलाई रु ६५ हजार ८२, तृतीय हुनेलाई रु ५५ हजार ८२ पुरस्कार प्रदान गरिएको छ । सान्त्वना हुनेलाई जनही रु १६ हजार ८२ नगद पुरस्कार प्रदान गरिएको छ ।

म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो ।