राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।

लामिछानेले भने–  ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पुर्‍याउला मलाई अब चिन्ता छैन किनकि देशले बालेन पाएको छ ।’

उनले मधेसले उन्नत बिउ रोपेको र अहिलेको अवस्थालाई ‘हिलोको बिउ’ भएको संज्ञा दिँदै मधेसले आफ्नो सपना खोसेर लिने बताए ।

चितवनको जनताले संसद्कै सबैभन्दा धेरै भोट दिए पनि सरकारले छलछाम गरेको लामिछानेको आरोप थियो। उनले पहिला आफूले सबैभन्दा धेरै भोट ल्याएकोमा अब पार्टीले सबैभन्दा धेरै भोट ल्याउने दाबी गरे। ‘मलाई प्रवाह छैन त्यस्ता मुद्दा लाग्दै गर्छ जिते जितिन्छ, हारे हारिन्छ,’ उनले भने ।

लामिछानेले बालेन शाहसँगको भेटबारे पनि प्रकाश पारे । ‘जुन दिन बालेनजी र मेरो भेटघाट भयो । भोलिपल्ट बिहान मेरो आमाको स्वर्गीय आमासँग कुरा गरेँ । बालेनजीले मेरो सपना सोध्नुभयो । मैले बताएँ । मैले सोधेँ,’ उनले भने । भेट भएको पाँच मिनेटमै आफूहरूले सहमति गरेको दाबी गर्दै देशको हितलाई केन्द्रमा राखेकाले वार्ता गर्न आवश्यक नभएको उनको भनाइ थियो ।