नेपाली कांग्रेस स्वतन्त्र अभियान जोशी समूहको जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । भेलाको अध्यक्षता अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता हरिशरण पण्डितले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका नेता सुकुमलाल गुरुङको उपस्थिति रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा नेपाली कांग्रेसकी नेत्री तथा संविधान सभा सदस्य उर्मिला थापा रहनुभएको थियो । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीराम अधिकारी, कांग्रेसका नेताहरू घनश्याम घिमिरे, परशुराम गिरी, ऋषिराम पोखरेल, दीपकराज जोशी, भानु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिमलराज जोशी, नरेन्द्र थापा, केशरबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्या. रेशम बहादुर गुरुङले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रताप सिंह अधिकारीले गर्नुभएको थियो ।

भेलामा वक्ताहरूले समसामयिक राष्ट्रिय राजनीति, नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र पारेको प्रभाव, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनमा अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल गरेका थिए। वक्ताहरूले नेपाली कांग्रेसको स्वतन्त्र अभियान जोशी समूहले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य मान्यता र जनताको अपेक्षालाई आत्मसात गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका थिए । छलफलका क्रममा नेपाली कांग्रेसको स्वतन्त्र अभियान जोशी समूहबाट उम्मेदवार छनोट, नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दलसँग निर्वाचन सहकार्यको सम्भावना र त्यसका आधारहरूबारे समेत गहन बहस भएको थियो । सहभागी वक्ताहरूले स्थानीय आवश्यकता, जनभावना र संगठनात्मक क्षमतालाई ध्यानमा राखेर उम्मेदवार तय गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

  भेलाले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिससमेत गरेको छ। सिफारिस अनुसार क्षेत्र नम्बर १ बाट सुकुमलाल गुरुङ र दीपकराज जोशीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने क्षेत्र नम्बर २ बाट हरिशरण पण्डित र नरेन्द्र थापा मगरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । त्यसैगरी भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन सहकार्यका विषयमा छलफल र संवाद अघि बढाउन हरिशरण पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। गठित समितिमा सदस्यका रूपमा सुकुमलाल गुरुङ, उर्मिला थापा, दीपकराज जोशी, ऋषिराम पोखरेल, नरेन्द्र थापा र प्रताप सिंह अधिकारी रहेका छन् । भेलामा सहभागी नेताहरूले स्वतन्त्र अभियान जोशी समूहलाई थप संगठित र प्रभावकारी बनाउँदै पार्टीभित्र सकारात्मक दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, आगामी दिनमा जनस्तरसम्म पुग्ने कार्यक्रमहरू सञ्चालन गर्दै संगठन विस्तारमा जोड दिने निर्णयसमेत भेलाले गरेको छ । भेलाको अन्त्यमा अध्यक्ष हरिशरण पण्डितले सहभागी सबै नेता, कार्यकर्ता तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै भेलाबाट गरिएका निर्णयहरूलाई व्यवहारमा उतार्दै अभियानलाई थप सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।