सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले आइतबार आयोजना गरेको एक दिने आँखा स्वास्थ्य शिविरमा २०५ जनाले आँखा परीक्षण गराएका छन् ।सवारी दुर्घटना न्यूनीकरण र चालक तथा यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक सप्ताह–२०८२ अन्तर्गत उक्त शिविर आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । नेपाल प्रहरी अस्पताल महाराजगन्ज र ग्रिनसिटी अस्पताल सामाखुसीको सहकार्यमा उक्त शिविर आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरको उद्घाटन उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सवारीसाधनका चालकको दृष्टि क्षमता सवारी सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै यस्ता स्वास्थ्य शिविरबाट दुर्घटना कम गर्न योगदान पुग्ने बताए । शिविरमा सहभागीलाई आँखा परीक्षणसँगै आवश्यक परामर्शसमेत दिइएको थियो ।यसै अवसरमा ट्राफिक प्रहरीले आइतबार नै सवारी चालक तथा यात्रुसँग ‘दुई मिनेट’ कार्यक्रमसमेत सञ्चालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत सवारी चालक, परिचालक, यात्रु तथा पैदलयात्रीलाई छोटो समयमै सडक सुरक्षा, ट्राफिक नियम पालन, सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गरिएको थियो ।





