शुक्लागण्डकी नगरपालिकाको १८ औँ नगर सभा सम्पन्न भएको छ । सोमबार नगरपालिकामा सम्पन्न भएको सभा मार्फत चालु आर्थिक बर्षको प्रगति विवरणको समिक्षा सहित एक विधयक दुई कार्यविधि पारित गरिएको छ । नगर सभामा पेश गरिएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा ब्यवस्था गर्न बनेको विधयक सहित बेरुजु फस्र्यौट कार्यविधि २०८२ र लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि २०८२ पारित गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितको अध्यक्षतामा सम्पन्न भएको सभामा विधायन समितिका संयोजक तथा शुक्लागण्डकी नगरपालिका १० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले पेश गरेको विधयक र कार्यविधि नगर सभाले बहुमत सहित पारित गरेको थियो । सभामा शुक्लागण्डकी नगरपालिकामा गठन भएको सुशासन समिति, आर्थिक समिति, पुर्वाधार समिति, सामाजिक समिति, वन वातारण तथा विपद ब्यवस्थापन समिति, लेखा समिति र उप्रमुख खुमबहादुर विक राजु संयोजक रहेको राजश्व, अनुगमन र न्यायिक समितिले पछिल्लो ६ महिनामा गरेको कार्य सम्पादनको अवस्थाबारे जानकारी दिइएको थियो ।
सभामा शुक्लागण्डकी नगरपालिका ५ वडासदस्य धनेश्वर श्रेष्ठले अनुत्पादक क्षेत्रमा नगरपालिकाको लगानी रोक्नुपर्ने र शुक्लागण्डकी ६ की वडा सदस्य विमला पौडेल जेनजी आन्दोलन पश्चातको अवस्थालाई सुधार गर्नुपर्ने सुझाव दिनुभयो । सभा मार्फत जनप्रतिनिधि र कर्मचारी थप संयम बनेर जनताको सेवामा लाग्ने प्रतिवद्धता समेत गरिएको छ ।





