दमौलीमा छैठौं आदिबासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनमा सो महोत्सव हुन लागेको हो । यही पुस २४ देखि माघ ५ गतेसम्म महोत्सव हुने सोमबार पत्रकार सम्मेलन मार्फत जनाकारी गराइएको हो ।
प्रकृति,संस्कृति र प्रविधिलाई जीवन्त राख्दै युवा पुस्तामा हस्तान्तरण गर्दै लैजान महोत्सवको मुख्य उद्वेश्य रहेको महासंघका अध्यक्ष सनम तामाङले जनाकारी दिनुभयो । महोत्सवमा विभिन्न किसिमका गरी एक सय पचास स्टल रहने छ । उहाँका अनुसार महोत्सवमा तीन लाख दर्शकले अवलोकनका साथै ७३ लाख बराबरको कारोबार र ५८ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट रु पन्ध्र लाख बचत हुने अपेक्षा गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
महोत्सवबाट मुनाफा भएको रकमले व्यास–१२ स्थित गल्लामा एक रोपनी क्षेत्रफल खरीद गरिसकेको र एक सय रोपनीको हाराहारीमा ओइलेनी जग्गा रहेकाले त्यस क्षेत्रमा म्यूजियम लाइभ निर्माणमा खर्च गर्ने योजना रहेको भानु घाँसी ग्रामका संयोजक हरिसिं गुरुङले जनाकारी दिनुभयो। उहाँका अनुसार आदिबासी जनजातिको कला,संस्कृति र भाषा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण पाटो बन्नेछ ।
महोत्सवमा लण्डन ब्रिज,इफिल टावर र युनियभर्सल ल्याउन लागिएको छ भने ३० बर्ष उमेर काटेका बिवाहित महिलाको एकल नृत्य प्रतियोगिता, स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।महोत्सव व्यास ३ स्थित अन्सन चौतारीको खुल्ला चौरमा हुनेछ ।





