दुई तिहाइ बहुमत नजिक जनमत भएको तत्कालीन नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आज एक वर्ष पुगेको छ । यो एक वर्ष राजनीतिक अस्थिरता र अन्योलमा बित्यो ।
त्यसपछि ओलीबाट दोस्रो पटक पनि संसद विघटन, अदालतबाट फेरि पुनर्स्थापना , नेकपा र एमाले विभाजन, सरकारबाट ओलीको बहिर्गमन र शेरबहादुर देउवाको आगमन लगायत राजनीतिक घटनाक्रम भए ।
पछिल्लो समय प्रमुख पार्टीहरू महाधिवेशनको प्रक्रियाबाट गुज्रँदै छन् । यिनै राजनीतिक घटनाक्रम र दलहरूको भावी दिशा र दशाबारे अध्येता विष्णु सापकोटासँग बिनु सुवेदी र सुदर्शन खतिवडाले गरेको कुराकानीको सम्पादित अंश :
भर्खरै मुलुकका ठूला दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसको महाधिवेशन सकिएका छन् । यसले छानेका नेतृत्वलाई हेर्दा मुलुकको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ?
अब दुई-चार महीनामा चुनावी माहोल आउँछ । त्यसमा समीकरण एकदमै धेरै बन्नेवाला छन् । दलहरूबीच कुन-कुन मुद्दाको वरिपरि कस्ता समीकरण बन्छन् ? मुख्य कुरा त्यो हो ।
२०६२/६३ को वाचा पूरा भइसकेको छैन । यसबीचमा यी पार्टीहरूका सम्बन्ध र आकार कुनै मुद्दा र एजेन्डाभन्दा जित्ने उद्देश्यद्वारा निर्धारित भएका छन् । दलहरू फुट्ने वा जुट्ने मुद्दाका आधारमा हुने गरेको छैन ।
यिनीहरूको मुख्य एजेण्डा चुनाव हुन्छ, त्यसो हुँदा मिल्ने र जित्ने प्रमुख हुन्छ । मेरो विचारमा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेका चुनाव जित्नका लागि हो न कि सात दशक लामो कम्युनिष्ट आन्दोलनको मायाले ।
अबको चुनावअघि माधवकुमार नेपाल र केपी ओली मिले भने पनि मचाहिं अचम्म मान्दिनँ । किनभने, यिनीहरूको प्रमुख उद्देश्य चुनाव जितेर राज्यसत्ता र पार्टीसत्तामा जाने हो । उनीहरू आफूले जित्नुपर्ने रुचिका कारणले मिल्छन् ।
एकातिर २०६२/६३ का वाचा अपूरै छन् भने अर्कोतिर पछाडि फर्कन खोज्नेहरू जबरजस्ती आइरहेका छन् । ती कता जान्छन् भन्ने पनि महत्वपूर्ण विषय हो ।
एमालेको नयाँ संरचनामा केपी ओली भनेकै एमाले र एमाले भनेकै केपी ओली भन्ने अवस्था छ । यो दृश्य एमालेकै लागि उत्साहप्रद हुँदैन । देशको राजनीतिका लागि पनि राम्रो होला जस्तो लाग्दैन ।
यो पृष्ठभूमिमा भएका पार्टी महाधिवेशनहरूमध्ये कांग्रेसमा केही फरक देखियो । सभापति र पदाधिकारीबीचको संघर्ष त देखिने भइगयो । पदाधिकारीहरूले तपाईं अस्ताउँदो सूर्य हो भनेर सभापतिलाई अस्ताउने वातावरण बनाउने र उहाँ अस्ताउन तयार हुने पनि हुन्छ कि जस्तो लाग्छ ।
अहिले नै धेरै उत्साहित पनि हुन पर्दैन, किनभने हरेक मान्छेमा पछाडि फर्किने क्षमता हुन्छ ।
एमालेको नवौं महाधिवेशनबाट एकदमै बहस गर्न सक्ने, प्रश्न गर्ने मान्छेहरू नेतृत्वमा पुगे । दशौंमा आउँदा ती सबै मूर्झाए । प्रश्न गरेर नेतृत्वमा पुग्नु र काम गर्न सक्नु फरक रहेछ । कांग्रेस र एमालेको मूल नेतृत्वको प्रवृत्ति एउटै छ नि ?