खाद्य उद्योग दर्ता सिफारिश, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अनलाइनमार्फत शुरू भएको छ ।

‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । उद्योगी व्यवसायीहरूले लगइन आईडी बनाई उद्योग दर्ता सिफारिश, अनुमतिपत्र जारी र नवीकरणका लागि आवश्यक कागजातहरू नेफिल्समा भर्न सक्ने महानिर्देशक कर्णले जानकारी दिनुभयो ।

सेवाग्राहीले कागजात अपलोड गरिसकेपछि विभागका कर्मचारीले हेर्नेछन् । सबै कागजात मिलेमा सेवाग्राहीको ईमेलमा अनुमतिपत्र तयार भएर जानेछ भने नमिलेमा कुन नमिलेको हो भन्ने जानकारीसहित फेरि भर्न अनुरोध जानेछ । ग्राहकले नमिलेका कागजातलाई फेरि अपलोड गर्न सक्नेछन् ।

खाद्य उद्योगको नमूना ल्याउनबाहेक अरू कार्यका लागि विभाग धाउनुपर्ने अवस्थाको अन्त्य भएको महानिर्देशक कर्णले बताउनुभयो ।