तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मा बसोबास गर्ने ६५ घर परिवारको वडा कार्यालयले स्वास्थ्य विमा गरिदिएको छ ।
वडा भित्र बसोबास गर्ने आर्थिक अवस्था कमजोर रही उपचारको पहुँचमा पुग्न समस्या भएका परिवारको वडा कार्यालय मार्फत विमा गराइएको वडाध्यक्ष खड्कसिं थापाले जानकारी दिनुभयो । थापाले आफु निर्वाचित भएदेखि नै विपन्न परिवारलाई विमा कार्यक्रममा समावेश गरेको बताउनुभयो । कार्यक्रम सफल र प्रभावकारी बन्दै जाने थालेपछि बर्षेनी विमा कार्यक्रमलाई निरन्तरता दिएको थापाको भनाई छ ।
सोमबार वडा कार्यालयमा आयोजना गरिएको विमित परिवालाई विमा कार्ड हस्तान्तरण तथा वडाको जानकारी समेटिएको डायरी सार्वजनिक कार्यक्रममा नगरपालिकाका मेयर कृष्णराज पण्डितले वडा नम्वर ७ मा जनअपेक्षित कामहरु भईरहेको दावि गर्नुभयो । उहाँले वडाध्यक्ष थापाको प्रशंसा गर्दै वडामा स साना सडकहरु कालोपत्रे र ढलान भएको, युवा लक्षित तालिम प्रभावकारी रुपमा सञ्चालन भईरहेको बताउनुभयो । मेयर पण्डितले बाँकी कार्यकालमा पनि जनताको माग अनुसारका विकास योजनामा ध्यान दिदै अव मानवपुँजी विकास गर्न शिक्षा क्षेत्रमा विशेष जोड दिने बताउनुभएको छ ।
कार्यक्रममा उपमेयर खुमबहादुर विक राजु, कार्यपालिका सदस्य शारदा अधिकारी, वडा सदस्य राजबहादुर थापा लगायतले वडाको विकास निर्माणमा बर्तमान स्थानीय सरकारले प्रभावकारी काम गरिहेको दावि गरे । उनीहरु यो बर्ष अझै टोल विकास संस्थालाई जिम्मेवार बनाएर वडाका विकासमा प्रगति देखाउनुपर्नेमा जोड दिएका थिए ।