जेसिआई व्यास नगरको आयोजनामा नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलन दमौलीमा हुने भएको छ। आगामी भदौ १४ र १५ गते सो सम्मेलन हुने शनिबार दमौलीमा पत्रकार सम्मेलन मार्फत जनाकारी गराइएको हो ।
सम्मेलनमा क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, नेपाल जेसिजका पूर्व र वर्तमान पदाधिकारी, क्षेत्र ‘क’, ‘ग’ र ‘घ’ का शाखा प्रतिनिधि, जुनियर जेसिजका प्रतिनिधि तथा देशभरका शाखा प्रतिनिधि र पर्यवेक्षक गरी करिब ८ सय जना सहभागी हुने सम्मेलनका निर्देशक सुरेश पुरीले जनाकारी दिनुभयो । सम्मेलनमा सहभागीहरूको बसोबासका लागि दमौली आसपासका होटल तथा लजहरू प्रयोग गरिने उहाँले जनाकारी दिनुभयो ।
तनहुँ जिल्लाको पर्यटकीय ,धार्मिक,साँस्कृतिक क्षेत्रहरको परिचय तथा प्रवद्र्धन एवं आन्तरिक बाह्य पर्यटनलाई दिर्घकालिन रुपमा भित्र्याउने उदेश्यले कार्यक्रम आयोजना गरेको शाखाका अध्यक्ष सुमित ढुंगानाले जनाकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम, विभिन्न विषयमा छलफल तथा बहस आयोजना गरिनेछ।
व्यास नगरपालिका–३ स्थित दमौली सभाहलमा हुने उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहने कार्यक्रम तय भएको पूर्व अध्यक्ष माधव न्यौपानेले जनाकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा भाद्र १५ गते विविध जातीय, धार्मिक, भेषभूषा, संस्कृति र संस्कार झल्किने झाँकी सहित पद यात्रा आयोजना गरिनेछ । नेपाल जेसिजका पूर्व राष्ट्रिय सिनेटर अरुणेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्ने र सोबारे नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले टिप्पणी गर्ने समेत कार्यक्रम रहेको न्यौपानेले बताउनुभयो ।
दमौली जेसिजको क्षेत्र ‘ख’ सम्मेलन हुनु यहाँको लागि गौरवको विषय भएको र यस कार्यक्रमले तनहुँको पर्यटनमा थप टेवा पुग्ने सम्मेलनका प्रवक्ता कृष्ण सुनारले जनाकारी दिनुभयो । उक्त सम्मेलनको लागि ६० लाख खर्च हुने अनुमान गरिएको उहाँले जनाकारी दिनुभयो ।