पवित्र तीर्थस्थल देवघाटधाममा सोमबार भक्तजनको भिड लागेको छ । शिव भगवानको महिनाको रूपमा लिने समयमा जिल्ला र बाहिरका भक्तजनको भिड लागेको हो । 

तीन जिल्लाको सङ्गम देवघाटमा कालीगण्डकी र त्रिशुली नदीको सङ्गमस्थलमा स्नान गरेर शिवालयमा जल चढाएमा मुक्ति पाइने विश्वासका साथ यहाँ सोमबार भिड लागेको हो । साउन महिनाभरी यहाँ स्नान गर्न भक्तजन आउने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन वरालले जानकारी दिनुभयो । 

सोमबार यहाँ विशेष मेला नै लाग्ने गरेको छ । साउन महिनाभरिमा यहाँ स्नान गर्न आउने दुई लाखभन्दा धेरै भक्तजन सहभागी भएको उहाँले बताउनुभयो । साउनको अन्तिम सोमबार भएकाले पनि यहाँ धेरै भिड भएको कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो । 

भिड व्यवस्थापन गर्न सवारी साधनलाई आउने र जानेबाटो अलग व्यवस्था गरिएको थियो । सोमबार सकिए पनि साउन महिनाभरी भक्तजन स्नानका लागि आउने गरेको उहाँले बताउनुभयो । भीडलाई व्यवस्थापन गर्न, भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर शिविर पनि राखिएको छ ।