प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारी सृजनामा आधारित भएर विभिन्न आयोजना निर्माणमा सहयोग पुगेको छ । विशेषगरी हराउने अवस्थामा पुगेको चौतारा, पदमार्ग, सिँढी बाटो, नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धनमा यस कार्यक्रमले सहज बनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा यस कार्यक्रमबाट ६ चौतारी, चार पदमार्ग, दुई सिँढीबाटो निर्माण तथा सरसफाइ गरिएको व्यास नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्रका संयोजक सुजिता थापाले जानकारी दिनुभयो । यस वर्ष श्रमिकको सहयोगमा व्यास–६ स्थित नारेश्वर चौतारा, फूलबारी चौतारी निर्माण, व्यास–१३ स्थित बेनीकोट भञ्ज्याङ चौतारा, आसापानी चौतारी तथा  व्यास–१४ स्थित ढाक्रेश्वरा समीचौतारा निर्माण गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी व्यास–११ स्थित ठाडोपाखा पदमार्ग, ठाडोपाखा पदमार्ग निर्माण, व्यास–१४ स्थित चिसापानी पदमार्ग र तिपिलिडिङ पदमार्ग निर्माण गरिएको छ । व्यास–९ स्थित सिम्ले ठूलो पधेँरोबाट कात्तिकेचौर हेल्थपोष्ट जाने सिँढीबाटो समेत निर्माण गरिएको संयोजक थापाले बताउनुभयो । व्यास–१३ स्थित बेनीकोट खतरा चोक सिँढीबाटो पनि निर्माण गरिएको छ । 

रु दुई लाखमा नारेश्वर चौतारा निर्माण, रु तीन लाखमा फूलबारी चौतारी निर्माण, माहेन्द्री ग्रामीण मार्गको नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धन गरिएको छ । रु दुई लाखमा सिम्ले ठूलो पधेँरोबाट कात्तिकेचौर हेल्थपोष्ट जाने सिँढीबाटो निर्माण गरिएको छ । रु पाँच लाखमा ठाडोपाखा पदमार्ग निर्माण योजना सम्पन्न गरेको छ । रु तीन लाख ५८ हजारमा ठाडोपाखा पदमार्ग निर्माण गरेको संयोजक थापाले बताउनुभयो ।  

यस्तै रु पाँच लाखमा बेनीकोट भञ्ज्याङ चौतारा जनजागृति मावि सरसफाइ र घर्ती चौतारी निर्माण, रु तीन लाखमा आसापानी चौतारी निर्माण र बेनीकोट खतरा चोक सिँढीबाटो निर्माण, रु पाँच लाखमा ढाक्रेश्वरा समीचौतारा, चिसापानी पदमार्ग र रु दुई लाखमा तिपिलिडिङ पदमार्ग निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । रोजगारी शीर्षकबाट कार्यस्थलमा आधारित सीप क्षमता विकास तालिम र जीवनोपयोगी सीप तालिम ४० जनालाई ५० दिने तालिम प्रदान गरिएको संयोजक थापाले बताउनुभयो । 

आर्थिक वर्ष २०८०/८१ मा सिँढी बाटो, चौतारा, नाला तथा पार्क सरसफाइ, गोरेटो बाटो निर्माणकार्यका लागि कुल रु २६ लाख ७२ हजार विनियोजित बजेटमध्ये रु २४ लाख ९० हजार खर्च भएको छ । ज्यालाका आधारमा रोजगारी सृजनामा आधारित रोजगार आयोजना सञ्चालन गरिँदै आएका छन् ।