तनहुँ ः जिल्ला प्रशासन कार्यालय तनहुँले लागु पदार्थ दुरुपयोग र ओसारपसार विरुद्धको साताव्यापी दिवसलार्ई रचनात्मक र प्रभावकारी बनाउन सरोकारवाला सबैमा आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको ओसारपसार विरुद्धको साताव्यापी कार्यक्रमको शुक्रबार शुभारम्भ गर्दैै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले लागुपदार्थको दुरुपयोग र ओसारपसार रोक्ने दायित्व प्रहरी प्रशासन मात्रको नभई सरोकारवाला सबै सचेत समुहको भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अधिकारीले आफ्ना छोराछोरी र आफन्तको संगत र खानपान शैलीको बारेमा पनि जानकार हुनुपर्नेमा जोड दिनुभयो । प्रजिअ अधिकारीले दिवसमा भएका गतिविधिको प्रचारप्रसार गरी आम नागरिकलाई सचेत बनाउने दायित्व संचारमाध्यमको भएकोले सोही अनसारको भूमिकाको अपेक्षा गरिएको समेत बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले सभ्य समाज निर्माण कार्यमा सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक विरेन्द्रबहादुर शाही, शसस्त्र प्रहरी २३ नम्बर गण भानुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अशोककुमार लम्साल, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरी आचार्य र जिल्ला हुलाक कार्यालय तनहुँकी प्रमुख अस्मिता बानिया लगायतले आफूहरुले लागुपदार्थको दुरुपयोग र ओसारपसारको विरुद्ध निगरानी, सन्देश प्रवाहका साथै विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभएको थियो । होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गा विलास अधिकारी, सामुदायिक सेवा केन्द्र तनहुँका सचिव तारा नरेश पौडेल लगायतले साताव्यापी कार्यक्रमलाई टोल, विद्यालय लगायतको सहकार्यमा व्यापक बनाउन प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
प्रहरी निरिक्षक आशिष विश्वकर्माद्धारा लागुपदार्थको प्रयोग र यसले पार्ने असरको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । दिवसको समापन १२ गते दमौलीमा प्रभातफेरी गरी मनाईने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
