काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् ।
कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि आगामी बजेटका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बाेलाउने तयारी गरेका हुन् ।
मेयर साहले समितिका सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिनानै असार ४ गते बैठक राख्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको छ । मेयर साहले सदस्य सचिव विना प्रशासनलाई जबरजस्ती प्रस्ताव तयार गर्न लगाएको स्रोतले जनाएको छ । स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ । १० गतेभित्रै बजेट पेस गरी असार मसान्तसम्म पारित गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।
तर, मेयर साह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो । कार्यपालिका र नगर सभा मात्रै होइन स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत छल्दै आएका मेयर साहले समितिका सदस्य सचिव गुरागाईँ विना नै बैठक राख्ने तयारी गरेपछि उक्त बैठक बस्न नसक्ने देखिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार साहले असार ४ गते ११ बजे मेयर साहकै बैठक कक्षमा बैठक बोलाएको बुझिएको छ । तर, सदस्य सचिव अनिवार्य हुनुपर्ने बैठकमा उनलाई नै ‘बाइपास’ गरेपछि बैठक अन्योल बन्ने महानगर स्रोतले जानकारी दिएको छ ।
समितिको सदस्यमा उपप्रमुख डङ्गोलसँगै कार्यपालिका सदस्यहरू नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली, रहनु भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक करिब ७ महिनादेखि बस्न सकेको छैन ।
नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ । अझ बजेटको सम्मुखमा नगरसभा बैठक बस्नै पर्ने बाध्यता छ । तर, मेयर साहले भने कार्यपालिका र नगर सभा दुवै बैठक छल्दै हिँडेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायतका कामहरूमा पनि अन्यौलता देखिँदै आएको छ ।