घिरिङ गाउँपालिका–१ घ्यान्छाप–पुटार मोटरमार्ग अन्तर्गत घ्यान्छाप देखि बोहोछाप सम्मको करिब ७ सय मिटर सडक खण्डमा कालोपत्रे कार्य सम्पन्न हुँदैछ । डिबिएसटी प्रविधि मार्फत पिच गरिएको यस सडकको निर्माण गण्डकी प्रदेश सरकार र घिरिङ गाउँपालिकाको समपुरक बजेट बाट १ करोड १७ लाख आर्थिक वर्ष ०८१/८२ मा सुरु गरिएको हो ।

हालसम्म उक्त खण्डको करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको घिरिङ गाउँपालिकाका प्राविधिक अमृत कुमार श्रेष्ठले जानकारी दिए ।

सडक निर्माणको जिम्मा लिएको लिस्सम निर्माण सेवा कम्पनी सँग २०८१ मंसिर २४ गते सम्झौता भएको हो ।यसैक्रममा, घ्यान्छाप–पुटार सडकको पहिलो खण्ड, अर्थात् स्वामिभञ्ज्याङ देखि घ्यान्छाप सम्मको भाग ७ सय मिटर सडक खण्ड कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ । गाउँपालिकाले सो कार्यका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ भने आर्थिक वर्ष २०८२/८३ मा थप ९१ लाख रुपैयाँ समपुरक संघीय बजेट पनि व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए ।