५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात निरुत्साहन गर्न थप कडा कदम थालेको छ । सोमबार वाणिज्य र विकास बैंकहरुलाई नयाँ परिपत्र जारी गर्दै नयाँ नीतिगत प्रवन्ध गरेको हो ।
अब डेढ दर्जन वस्तु आयात गर्दा बैंकले आयातकर्ताबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने छ । दुई प्रकारका वस्तु आयातमा ५० प्रतिशत नगद मार्जिन राखेपछि मात्रै प्रतीतपत्र खोल्न सकिने छ ।
अब रक्सी, फर्निचर, मार्बल, चाँदी, अत्तर, श्रृङ्गारका सामाग्री, चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिंक्स, चुरोट आयात गर्दा १०० प्रतिशत नै नगद मार्जिन राख्नुपर्नेछ । गाडी र मोटरसाइकल आयातमा त्यस्तो मार्जिन रकम ५० प्रतिशत मात्रै राखेर प्रतीतपत्र खोल्न सकिने छ । तर, विद्युतीय सवारीका हकमा मार्जिनको नीति लिइएको छैन ।
वस्तुको आयातको लागि प्रतीतपत्र खोल्दा तोकिएअनुसारको नगद मार्जिन लिनुपर्ने हुन्छ । यसअघि आयातको प्रक्रिया थाल्दा नगद मार्जिन अनिवार्य गरिएको थिएन ।
अब बैंकमा पैसा जम्मा भइसकेपछि मात्रै आयातकर्ताले प्रतीतपत्र खोल्न सक्नेछन् । औषधिजन्य पदार्थ र औद्योगिक कच्चा पदार्थका हकमा पनि मार्जिन रकमको व्यवस्था लागू हुनेछैन ।
लेखकको परिचय
फलो गर्नुस्।