काठमाडौँ । सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो ।सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनका लागि कानुन कार्यान्वयनमा आएपछि यो दिवस मनाउन थालिएको हो । सो अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
यसैगरी प्रधानमन्त्री ओलीले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । सूचना दिवसका अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको समेत बताए ।प्रमुख सूचना आयुक्त गुरुङले सबै सार्वजनिक निकायले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न र गराउनसमेत आह्वान गरेका छन् । सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दल तथा नेतृत्व, सार्वजनिक निकायका पदाधिकारी, सूचनाको हकका अभियन्ता, सञ्चारकर्मी, नागरिक समाजको भूमिका महत्वपूर्ण हुने आयोगले जनाएको छ ।राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज आयोजना गर्ने कार्यक्रमको प्रमुख आतिथ्यता उपराष्ट्रपति रामसहायप्रसाद यादवलले गर्ने जनाइएको छ ।