तनहुँको शुक्लागण्डकी नगरपालिकालाई बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले बारुणयन्त्र हस्तान्तरण गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व बहनअन्तर्गत नगरपालिकालाई आज एक कार्यक्रमका बीच बारुणयन्त्र हस्तान्तरण गरिएको हो ।नगर क्षेत्रभित्र हुनसक्ने सम्भावित आगलागीका घटना न्यूनीकरणका लागि नगरपालिकाले कम्पनीसँग बारुणयन्त्र माग गरेकामा सबै प्रक्रिया पूरा गरेर प्रालिले नगरप्रमुख कृष्णराज पण्डितलाई बारुणयन्त्रको साँचो हस्तान्तरण गरेको हो ।
नगरप्रमुख पण्डितले रु ८५ लाख मूल्यको चार हजार लिटर क्षमताको उक्त बारुणयन्त्र प्राप्त भएको बताउनुभयो । सूर्य नेपालका जनसम्पर्क प्रमुख अञ्जन दुवाडीले कम्पनीले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सहयोग गरेको जानकारी दिनुभयो । कम्पनीले गत असार ८ गते दमौली अस्पताललाई दुई थान डायलासिस उपकरण हस्तान्तरण गरेको थियो ।