राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ आइपुग्नुभएको छ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको हो ।राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने गौतमले बताउनुभयो । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको थियो ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण गरिएको हो ।हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरु भएको थियो । जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले राससलाई जानकारी दिनुभयो ।




