स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनाको मात्रै प्रदान गर्न लागिएको हो ।एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ । बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ । दीर्घरोगीहरू आफँैमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ । यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ ।पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ । गत असोज ४ गते एकैदिन अस्पतालमा दुई हजार नौ सय ४० जना बिरामी आएका थिए । तीमध्ये दुई हजार सात सय नौ बिरामीले बहिरङ्ग सेवामा र दुई सय ३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

माडी नगरपालिका–४ की गोमादेवी चापागाईँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आउनुभएको थियो । सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बस्नुभएकी उहाँले टोकन लिँदा दुई सय नम्बर पर्यो । बीमाबाट पाउने औषधि लिनका लागि आएका बिरामीको लाइन लामो लाग्ने गरेको छ ।मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आउनुभएकी उहाँ महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुई–तीन महिनाको औषधि लिन पाए यो हैरानी व्यहोर्नुपर्ने थिएन ।” घरमा बुढाबुढीमात्रै भएको भन्दै ६५ वर्षीया चापागाईँले औषधि लिनका लागिसमेत समस्या हुने गरेको बताउनुभयो । “एक महिना कति चाँडो जान्छ, जान्छ”, उहाँले थप्नुभयो । माडी चितवन राष्ट्रिय निकुञ्ज पार गरेर आउनु पर्दछ । माडी आउन जान मात्रै रु चार सयभन्दा बढी बसभाडा लाग्छ ।भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आउनुभएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झन्झट भएको बताउनुहुन्छ ।

अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो ।“लाइन बस्यो औषधि लिनका लागि १ः०० बज्छ”, उहाँले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अस्पतालमा बिरामीको चाप घटाउनका लागि पनि बीमाबाट पाउने नियमित सेवन गर्ने औषधि तीन महिनाको दिनुपर्छ ।” अस्पताल प्रशासनलाई नियमित भन्दासमेत नसुन्ने गरेको उहाँको गुनासो छ ।भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट बिरामी आमा लिएर आउनुभएका राजेश लामा आमालाई लिएर लाइनमा हुनुहुन्थ्यो । बयासी वर्षीया आमाको नियमित परीक्षण र औषधि सेवन गर्नुपर्ने भएकाले उहाँले बिरामी नै लिएर अस्पताल आउनुभएको हो । मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलको नियमित औषधि सेवन गर्नुपर्ने लामाले बताउनुभयो ।