गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो ।गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उहाँको बारेमा जानकारी गराउने उद्देश्यले सालिक स्थापना गरिएको हो ।

गोरखा नगरपालिकाको रु १० लाख तथा नेपाल मगर सङ्घको रु दुई लाखको लागतमा सालिक निर्माण गरिएको हो ।सहिद थापामगरले १९११ सालमा पुरानो गोरख गणमा भर्ना भएर १९२७ सालदेखि विद्रोहको थालनी गर्नुभएको इतिहास छ । सहिद थापामगरलाई १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका–७ वुङ्कोटस्थित काहुले भङ्गारमा तत्कालिन राणा शासकले मृत्युदण्ड दिएका थिए । उहाँलाई २०५६ सालमा नेपाल सरकारले सहिद घोषणा गरेको हो ।