तनहुँ ः बझाङको वित्थडचिर गाउँपालिका वडा नम्बर ७ स्यालढुंगाका दलित समुदायका पुड्के ओखेडाको घर भत्काउनेहरुको पहिचान गरी कारवाही प्रकृया अघि बढाउनु पर्ने माग गर्दै दलित संघमा आवद्ध तनहुँका दलितहरुले आन्दोलनको तयारी गरेका छन् ।
दलित संघ तनहुँको आयोजनामा सोमबार दमौलीमा भएको बृहत बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसक्दा समेत दलितमाथिको छुवाछुत र अभद्र व्यवहार गरिने क्रम नरोकिएको भन्दै सहभागी नेताहरुले आन्दोलनमा जानुको विकल्प नभएको जनाएका हुन् । ‘छुवाछुत मुक्त राष्ट्र भनिएपनि समाजबाट अझै पनि छुवाछुत र जातिय विभेद हट्न सकेको छैन,’ नेपाली कांग्रेस क्षेत्रीय सभापति समेत रहनुभएका दलित नेता स्याम मौरतीले भने, ‘छुवाछुत जन्य व्यहार साँच्चै समाजको कलंक हो भन्ने कुरा अन्य समुदायका मानिसहरुले कहिले बुझ्न आवश्यक छ ।
कानुनलाई हातमा लिएर घर भत्काउने अधिकार कुनैपनि समुदायलाई नभएकोले घर भत्काउनेहरुको पहिचान गरी कारवाही गर्नुपर्नेमा नेता मौरतीले जोड दिए । दलितहरुमाथि भएको ज्यादतीको विरोधमा सचेत समुदाय प्रतिकारमा उत्रनुपर्ने जिल्ला समन्वय समिति तनहुँका निवर्तमान जिल्ला सदस्य केशबहादुर सुनारले बताए । बैठकमा व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारले सत्यतथ्य बुझी मुलुकभरैबाट शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताईन् । नेपाली कांग्रेस जिल्ला सदस्य मिनबहादुर चदारो, नेपाल बार एशोसिएसन तनहुँका पुर्व अध्यक्ष अमृत नेपाली, संयुक्त दलित उत्थान मञ्चका बरिष्ठ उपाध्यक्ष विश्वबुढा परियार लगायतले अझै पनि जातिय आधारमा छुवाछुत र विभेद हुनु समाजकै कलंक भएको बताएका थिए । नेपाल दलित संघ तनहुँका अध्यक्ष रामकृष्ण विकले विभिन्न नाममा दलितमाथि हुने विभेदको विरुद्ध शान्तिपूर्ण रुपमा विभिन्न कार्यक्रम आवश्यक रहेको बताए ।
तस्विर समेत छ ।