राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा व्यास नगरपालिकाद्वारा आयोजित सचेतना सभा बुधबार सम्पन्न भएको छ । व्यास नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दमौली, तनहुँले २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा “भूकम्पले सिकाएको पाठःबलीयो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने मुल नाराका साथ विशेष सचेतना सभा आयोजना गरेको हो । नगर प्रमुख बैकुण्ठ न्यौपाने अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका अशोक कुमार श्रेष्ठ प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै साँसद श्रेष्ठले कार्यक्रमको महत्वलाई उजागर गर्दै व्यास नगरपालिकाको यो प्रयासले समुदायमा भूकम्पीय सुरक्षाका उपायहरूबारे सचेतना जगाउन ठूलो योगदान पुर्याउने बिश्वास व्यक्त गर्नुभयो । व्यास नगरपालिकाका उप–प्रमुख ईन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी तथा व्यास नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत काशिराम गरै,जिल्लाका राजनीतिक दलका प्रतिनिधि जिल्ला स्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, जिल्ला समन्वय समितिका प्रतिनिधि ,रेडक्रस, पत्रकार महासंघ, उद्योग वाणिज्य संघका प्रतिनिधि, सेना, प्रहरी, सशस्त्र प्रहरी प्रतिनिधी अतिथिका रुपमा साथै टोल विकास संस्थाका प्रतिनिधिहरू, परामर्शदाता, निर्माण व्यवसायी, आयोजक संस्थाका जनप्रतिनिधि तथा कर्मचारीसहित करिब २०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा १९९० को महाभूकम्पको स्मृतीमा दिउँसो २ः२४ बजे “घुँडाटेकी गुडुल्की ओत लागि समात” को अभ्यास गरिएको थियो । कार्यक्रममा सहभागीहरुले एक अर्काको हात समाती माथी उठाएर सामुहीक एक्यबद्धता सहित सामुहीक प्रतिबद्धता जनाएका थिए ।म भूकम्पीय जोखिममा सुरक्षित हुने उपायहरु सिक्नेछु, परिवारको सबै सदस्यहरुलाई सिकाउनेछु,मैले बनाउने घर भूकम्प प्रतिरोधी बनाउनेछु र मेरो समुदायमा भूकम्पीय जोखिम न्युनीकरण सम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्नेछु भन्ने प्रतिबद्धता जनाएका थिए ।कार्यक्रममा ईन्जिनियर रविन्द्र लाल मूल र ईन्जिनियर अमृत के।सी। ले भूकम्पका सम्बन्धमा प्रस्तुति र कार्यक्रमको सञ्चालन ईन्जिनियर सुवास गौतमले गर्नु भएको थियो । कार्यक्रममा सहभागी विभिन्न प्रतिनिधिहरूले भूकम्पीय सुरक्षाका विविध पक्षमा तथा नगरपालिकाले आगामी दिनमा गर्नुपर्ने कार्यहरुको सुझाव सहित आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । नगर प्रमुख न्यौपानेले भूकम्पीय सुरक्षाका लागि जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउनुभयो ।