तनहुँ, असार ३०
तनहुँको भानु नगरपालिका भन्सार युवा क्लबद्धारा आयोजित भानुकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ ११ ले जितेको छ । बुधबार भएको राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेलमा तनहुँ ११ ले सिद्धगुफा युवा क्लबलाई २–० गोलले पराजित गर्दै जित हासिल गरेको हो । विजेता तनहुँ ११ र उपविजेता सिद्धगुफा युवा क्लबका खेलाडीहरुलाई क्रमशः २ लाख र १ लाख रुपियाँ तथा मेडल, ट्रर्फी र प्रमाणपत्र पाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको आत्मबल बढेर राष्ट्रिय मात्रै नभई अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा तनहुँ ११ का रणविर पौडेल उत्कृष्ट खेलाडी र सोही क्लबका दिपेश आलेमगर सर्वाधिक गोलकर्ता घोषित भएका थिए । उनले नौ गोल गरेका थिए । उक्त प्रतियोगितामा सान्त्वना पुरस्कार स्वरुप र्मस्र्याङदी र सामना युवा क्लबलाई २० – २० हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरेको आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।