म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ ।बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रदर्शन गरेसँगै उपाधि चुमेको हो ।निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ गरेकी थिइन् । जनप्रिय माविले बेनी सामुदायिक मावि तथा न्यू वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

न्यू दोभान युथ क्लबले दिवङ्गत पूर्वअध्यक्ष अनन्त गिरीको स्मृतिमा ‘९ ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई क्रमशः रु ४५ हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसी, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटबल सङ्घका अध्यक्ष कुमार बानियाँलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्टकी निकितासिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ति मगर र उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता दर्जी घोषित भए । आयोजक दोभान यूथ क्लबका अध्यक्ष उपेन्द्र गिरीले छात्रालाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा १० टोली सहभागी थिए ।