नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एवं केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफू सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् ।उनी गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । आफ्ना अभिव्यक्तिका कारण समय समयमा विवादमा आउने गरेकी गौतमले पाँच महिनामै राजनीतिबाट बिदा लिएकी हुन् ।उनले आगामी दिनमा सक्रिय समाज सेवालाई निरन्तरता दिने उल्लेख गरेकी छन् । उनले आफू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको बताएकी छिन् ।
दलको सक्रिय राजनीति गर्नेलाई एकपटक धरान पुगेर मेयर साम्पाङको काम हेर्न पनि उनले अनुरोध गरेकी छिन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई सर्वोच्च अदालतले दिपालयले गरेको जन्मकैदको फैसलालाई सदर गरेपछि एलिजाले नेता चौधरीलाई नछुटाए देशमा आगो बाल्ने चेतावनी दिएकी थिइन् । यो अभिव्यक्तिले उनको चर्को आलोचना भएको थियो । पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई स्वागत गर्न उनी फूलमाला लिएर डिल्लीबजार कारागार नै पुगेकी थिइन् ।
रिपोर्टक क्लवका अध्यक्ष ऋषि धमलाकी श्रीमती एलिजाले पाँच वर्षअघिको फिल्म ‘अनुराग’बाट फिल्ममा अभिनेत्रीका रुपमा डेब्यु गरेकी थिइन्, जुन फिल्म फ्लप साबित भएको थियो । उनको अर्को फिल्म ‘घुइँचो’ घोषणा भएको थियो तर बन्न सकेको छैन । उनले केही म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छिन् ।