आगामी आर्थिक बर्षदेखि कक्षा ५ को परीक्षालाई पनि नगर स्तरीय बनाइने भएको छ । आइतबार ३९ औँ नगरसभामा आर्थिक वर्ष २०८०र ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुमा गणित तथा विज्ञान प्रयोगशालालाई व्यवस्थित गरिने बताउनुभएको हो । साथै विद्यालयको स्तरबृद्धि , बालबालिकाको आधारभूत शिक्षाको प्रत्याभूति हुनेगरी विद्यालय तथा शिक्षक समायोजन प्रक्रियालाई निरन्तरता दिइने छ । गणित , विज्ञान जस्ता विषयहरुमा गुणस्तर सुधारको प्रशिक्षणको व्यवस्था मिलाइने छ । व्यास नगरपालिकाको सामुदायिक र संंस्थागत विद्यालयका कक्षा ८ को अन्तिम परिक्षालाई यसै बर्षदेखि नगर स्तरीय लिइएकोमा आगामी बर्ष पनि निरन्तरता दिइने छ र आगामी बर्षदेखि कक्षा ५ को परीक्षालाई पनि नगर स्तरीय बनाइने छ । त्यस्तै व्यास नगरपालिका भित्र कार्यरत , करार एंव राहत शिक्षकहरुको हरेक बर्ष कार्य सम्पादन मुल्यांकन गरी प्रत्यक बर्ष नियुक्तिको नवीकरण गर्ने व्यवस्था मिलाइने भएको छ । उहाँले भन्नुभयो “वर्तमान आर्थिक मन्दीको अवस्थालाई मध्यनजर दिई आ व २०७९/०८० का करका दरहरु घटाई करका दरमा हेरफेर गर्ने र आ व २०७८÷०७९ सम्मको व्यवसाय कर, सम्पत्ति कर बुझाउन बाँकी हुनेहरुले २०८० पौष मसान्तसम्म बुझाएमा जरिबाना छुट दिने निति लिइने छ । ‘ लैङ्गिक भेदभाव मुक्त व्यास नगर ’ बनाउन छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई छोरी २० बर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति कर लगायतका सबै करमा २० प्रतिशत छुट दिइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
