तनहुँको व्यास नगरपालिकाले सुरु गरेको उपमेयर सँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको छ । व्यास नगरपालिकाका महिलाहरुलाई आर्थिक,स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको उपमेयर सँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको हो । उक्त कार्यक्रम अन्तर्गत रहेको शैक्षिक बेरोजगार महिला हरुलाई उद्यमशिल बनाउने अभियानमा १५ जना महिलाले आफनै व्यवसाय सञ्चालन गरेका छन् । १२ कक्षा पास गरेका १५ जना बेरोजगार महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ नगरपालिकाले ५० हजारका दरले अनुदान प्रदान गरिएको थियो । निवेदन परेका शैक्षिक बेरोजगार महिलाहरुको व्यवसायको स्थलगत निरिक्षण गरि अनुदान प्रदान गरिएको महिला बालबालिका अपाङगता तथा ज्येष्ठ नागरिक उपशाखाकी प्रमुख राधा अचार्यले जानकारी दिईन् । उनले भनिन्,“उपमेयरको संयोजत्वमा गठिन अनुगमन समितिले दरखास्त परेका महिलाहरुले संचालन गर्न खोजेका व्यवसाय तथा संचालन गरिएका व्यवसायको स्थलगत अनुगमन गरि अनुदान प्रदान गरेका हौं । ” अनुदान पाउनेमा अधिकांशले कृषि तथा पशु फर्म संचालन गरेका छन् । अनुदान पाएकी व्यास ८ मा रहेको अधिकारी पशुपालन तथा कृषि फर्मकी पार्वती पराजुली अधिकारी भन्छिन्, ‘यो कार्यक्रमले हामीजस्ता विपन्न र मध्यम वर्गका महिलाहरुलाई धेरै फाईदा भएको छ । नगरपालिकालाई धेरै धन्यवाद दिन चाहन्छौ ।’ २०७८ असोज ७ गते नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शैक्षिक बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको थियो । उपमेयर सँग महिला कार्यक्रम अन्तर्गत रहेको गर्भवती महिला पोषण कार्यक्रम मार्फत १ सय ९ गर्भवती महिलालाई पोषण खर्च वापत ५ हजार प्रदान गरिएको छ । गर्भवती अवस्थामा महिलाहरुलाई आवश्यक पर्ने पोषण तत्व खरिद गर्न उक्त रकम प्रदान गदै आएको उपप्रमुख ईन्दिरा दरैले बताईन् । त्यस्तै अपाङगता भएका ८ जनालाई आयआर्जन गर्नका लागि बाख्रा वितरण समेत गरिएको उनले जानकारी दिईन् । उनले उपमेयर सँग महिला कार्यक्रम मार्फत महिलालाई आयआर्जनसँग जोडेर उनले
कार्यक्रममार्फत विपन्न, एकल, अपाङ्गता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिँदै लगानी गरिएको बताइन । उनले भनिन्, “बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित भएकी छु ।” त्यस्तै उक्त कार्यक्रम अन्तर्गत महिला प्रजनन स्वास्थ्य कार्यक्रम पनि सञ्चालन हुदै आएको छ । नगरप्रमुख न्यौपानलेले उपमेयर सँग महिला कार्यक्रम नमूना परियोजनाका रूपमा अगाडि बढेको बताउँदै यसलाई उत्पादनमा जोड दिँदै स्वरोजगार सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाको सहयोग रहने विश्वास व्यक्त गरे ।