काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा बहस गर्न ढिलोमा ४ः३० बजेसम्मको समय छुट्टाइएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बहसका लागि ४ः३० बजेसम्मको समय दिएका हुन् ।बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट बिहान ११ः२५ बजेदेखि अपराह्न १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसै गरी सरकारी वकिललाई बहस गर्नका लागि अपराह्न १ बजेदेखि ३ बजेसम्मको समय दिइएको छ । खाजा समय भए पनि सुनुवाइ जारी रहने न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासमा सर्कुलर जारी गरेका छन् ।

उक्त रिटमा सरोकारवालाको तर्फबाट बहस गर्न अपराह्न ३ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ । सबैको बहस सकिएपछि जवाफ दिनुपर्ने भएमा वा थप प्रस्ट पार्नुपर्ने भएमा रिट निवेदकहरुलाई थप आधा घण्टाको समय दिइएको छ । यसरी ढिलोमा ४ः३० बजेसम्ममा बहस सक्न न्यायाधीश भट्टराईले सर्कुलर जारी गरेका छन् । बिहान ११ः२५ बाट सुरु भएको बहसमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस सकाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले प्रमाणीकरणका विरुद्ध बहस गरेका छन् ।पूर्ववर्ती सरकारले पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेको विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरुद्धमा रिट परेको थियो । राष्ट्रपतिले कानुन र संविधान विपरीतको काम गरेको भन्दै प्रमाणीकरण विरुद्ध रिट परेको थियो ।