काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने बताएका छन् ।शुक्रबार काठमाडौँमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति एक्लैले गरेको भन्दै अब त्यस्ता निर्णयमा सहेर नबस्ने बताएका हुन् । उनले कांग्रेसको यस्तै निर्णयले भोट पाए पनि विश्वास गुमाएको बताए ।
‘कांग्रेसलाई बदल्ने हो । कांग्रेसलाई नबदलीकन जस्ताको तस्तै राखेर विश्वास फर्किँदैन’, उनले कांग्रेस बदल्न नेता कार्यकर्ता बदलिनुपर्ने पनि बताए ।थापाले भने, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो ।’ उनले ती निर्णयहरू गर्नुअघि सभापतिले पार्टीमा कुनै छलफल नगरेको भन्दै आपत्ति जनाए ।‘मैले त पछि थाहा पाएको हो । यो परिपाटी एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले सहँदै आएँ’, महामन्त्री थापाले भने, ‘किनभने सभापति हो, बहुमत उहाँसँग छ भनेर सहेँ । नसहनुपर्ने कुरा सहेकाले अव म सहन्न भन्ने कुरा मैले बदल्ने हो ।
’ उनले पार्टी नेतृत्वको यो निर्णय प्रक्रियाको तरिकाले पार्टीलाई अहित गरिरहेको भन्दै अव नसहने बताए । ‘जुन कुराले पार्टीको अहित गर्छ । त्यस्ता निर्णयहरूको भारी पार्टीका तमामले कार्यकर्ताले बोक्नुपरेको छ’, उनले भने, ‘अब लडेर जुधेर रोक्ने हो । एकपछि गलत निर्णय गर्दै जाने हो भने यो पार्टी यसरी थिचिन्छ कि यो भारी बोक्न अव सकिँदैन । उठाउन पनि सकिँदैन ।’