आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २२ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ । तर यो षणयन्त्र कसले गर्‍यो ? अहिलेसम्म रहस्य भने बाहिर आउन सकेको छैन ।हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।

यो २२ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था नै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन ।

गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामै दरबार हत्याकाण्डसहितका वीभत्स हत्याकाण्डहरूबारे नयाँ शिराबाट अनुसन्धान हुनुपर्ने बताएका थिए ।