काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् ।टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । उनी छुटेपछि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग उनी मन्त्री क्वार्टर पुगेका थिए । त्यसपछि माइतीघर पुगेर आफ्ना कार्यकर्ताहरूसँग खुसीयाली मनाएका छन् । रेशम आजै कैलाली जाने कार्यक्रम रहेको छ ।राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरू डिल्लीबजार कारागार पुगेका थिए । उनीहरूले रेशमलाई फूल मालाले भव्य स्वागत गरे । उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको छ । तर सामाजिक सञ्जालमा भने सरकारले यस निर्णयको चौतर्फी विरोध भएको छ ।