नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा भोलि (बुधबार) अदालतमा दर्ता गरिने भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै भोलिमात्रै मुद्दा काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरेको हो। सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले सोमबार अभियोजनको काम नसकिएकाले मंगलबार उक्त काम सकिने जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो अनुसन्धान प्रतिवेदन कार्यालयलाई बुझाएको थियो।
लामो अनुसन्धान भएकाले पनि समय लागेको न्यौपानेले बताए। चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान सोमबार मात्रै टुंगिएको हो। प्रहरीले ठगी तथा संगठित अपराध कसूरमा अनुसन्धान अघि बढाएको यस प्रकरणमा ६० दिनमा मुद्दा दर्ता गर्नुपर्ने बाध्यता छ। यस्तै हिरासतमा रहेका १६ जनालाई पनि एक दिनको म्याद थप गराउनुपर्ने भएको उनले बताए। उनीहरूलाई आजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्ने पनि तयारी छ।
प्रहरीले प्रतिवेदन बुझाउँदा विशेष गरी तीन वटा कसुरमा मुद्दा लग्नुपर्ने सुझाव दिएको छ।
ठगी, संगठित अपराध र राज्यविरूद्धको कसूरमा मुद्दा लग्न प्रस्ताव गरेको हो। यसमा प्रहरीले १२ जनाभन्दा बढीलाई फरार प्रतिवादीको रूपमा पेश गरेको छ।