व्यास नगरपालिका कार्यालयले व्यासका जनप्रतिनिधीहरुले सार्वजनिक समारोहमा माला,खादा,व्याज र मायाको चिनो लिन प्रतिबन्ध लगाइने भएको छ । आइताबार व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यास नगरपालिका,नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।व्यास नगरपालिका अन्र्तगत कार्यरत महिला स्वयसेविकाहरुका लागि प्रोत्साहित गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयसेविका प्रोत्साहन कार्यविधि २०८० पारित गरेको छ ।
आर्थिक बर्ष २०८०÷०८१ को लागि व्यासका प्रत्येक वडालाई रु एक करोड बजेट सिमा निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
व्यास नगरपालिका मातहत रहेका चौध वटै वडालाई रु एक करोडका दरले बजेट सिमा निर्धारण गरेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङ्गले जानकारी दिनुभयो । व्यास नगरपालिका श्रोत सिमा निर्धारण समितिको निर्णय अनुरुप संघ,प्रदेशबाट प्राप्त सिमा र आन्तरिक आयको बिश्लेषण गरी उक्त प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । त्यसैगरी व्यास नगरपालिका अन्र्तगत संचालन हुने सार्वजनिक समारोहलाई व्यवस्थित गर्न सार्वजनिक समारोह संचालन कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । हालै आएको हावहुरी,असिना पानीका कारण नगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा पारेको असरको विवरण संकलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई बिपद् समितिमा सिफारिस गर्न सबै वडा समिति क्रियाशील हुन निर्देशन दिने निर्णय गरेको छ । व्यास नगरपालिका अन्र्तगत सबै जनप्रतिनिधीहरुको नागरिक सरोकारका बिषयमा सहभागिता एवं वडा,पालिका गतिविधीहरुमा संलग्न भएको दैनिक अभिलेख राखि व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । त्यसैगरी,व्यास नगरपालिका–९ स्थित बसाहस्थान माध्यमिक विद्यालयमा कक्षा ६,७,८,९ र १० आवसीय विद्यार्थी भर्ना गरी समता विद्यालय संचालन गर्न अनुमति दिने निर्णय गरेको छ । साथै व्यास नगरपलिकालाई पुर्ण खोप सुनिश्रित घोषण समेत गरेको छ ।
